९ मंसिर २०८१, आईतवार
एक महिना अघि मात्रै बढेर घटेको निर्माण सामग्रीको मूल्य फेरि बढ्न सुरु भएको छ । अहिले निर्माणजन्य सामग्रीहरुको मूल्य २ रुपैयाँदेखि १५ रुपैयाँसम्म बढेको छ ।
एक महिना अगाडि मात्रै निर्माण सामग्रीको मूल्यले उकालो यात्रा तय गरेपछि त्यसको चौतर्फि विरोध भएको थियो । निर्माण सामग्रीको मूल्यवृद्धिको व्यापक विरोध भएपछि उद्योगीहरु मूल्य घटाउन बाध्य भएका थिए । तर, अहिले फेरि उनीहरुले मूल्य बढाउन सुरु गरेका हुन् ।
अहिले विभिन्न फलामजन्य, खानीजन्य र लगायत निर्माण सामग्रीको मूल्य बढेको बताइएको छ । विशेष गरेर डण्डी, पाइप लगायत फलामजन्य निर्माण सामग्रीको मूल्य वृद्धि भएको व्यवसायीहरुको भनाई छ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले डण्डीको मूल्यमा प्रतिकेजी १० रुपैयाँसम्म मूल्यवृद्धि भएकाे बताए ।
‘केही हप्ता अगाडि मात्रै मूल्य घटेको थियो, अहिले फेरि प्रतिकेजी १० रुपैयाँसम्म डण्डीको मूल्य बढेको छ, कारण के हो थाहा छैन, अन्तर्राष्ट्रिय रुपमै मूल्य बढ्नाले नेपालमा पनि बढेको तर्क उद्योगीहरु दिन्छन्, तर अन्तर्राष्ट्रिय रुपमा पनि खासै बढेको देखिँदैन,’ उनले भने ।
उनका अनुसार निर्माण सामग्रीहरुको मूल्य बढ्दा निर्माणको लागत पनि बढ्ने चिन्ता व्यवसायीहरुमा छ ।
‘पहिले ६८/७० रुपैयाँसम्म प्रतिकेजी डण्डीको मूल्य पर्थ्यो, अहिले ७८ रुपैयाँ भन्दा पनि बढीमा कारोबार भइरहेको छ, मूल्य बढ्नुको यकिन कारण छैन,’ उनले भने ।
पहिले पनि मूल्य बढ्दा व्यवसायीहरुले सरकारलाई निर्माण सामग्रीको मूल्य घटाउन अनुरोध पनि गरेका थिए । त्यतिखेर नेपाली उद्योगीहरुले अन्तर्राष्ट्रिय रुपमा सामानको मूल्य बढेको बताएपनि पछि दवावमा परेपछि घटाउन बाध्य भएका थिए ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले पनि फलामजन्य निर्माण समग्रीको मूल्य बढेको बताएका छन् । उनले पछिल्लो केही दिन यता फलामजन्य निर्माण समग्रीको मूल्य उद्याेगीहरुले बढाएको बताएका छन् ।
‘अहिले धेरैले आयोजनाहरु हस्तान्तरण गर्नु पर्ने हुन्छ, काम सक्ने चटारोमा व्यवसायीहरु हुन्छन्, त्यसैले पनि अहिले निर्माणजन्य सामग्रीको माग एकदमै बढेको छ, निर्माण समग्रीको माग बढ्दा मूल्य पनि बढेको छ,’ उनले भने ।
उनले अहिले फलामको पाइप, डण्डी, स्टिल लगायतका फलामजन्य सामग्रीमा मूल्य २ देखि १५ रुपैयाँसम्म बढेको बताए । उनका अनुसार प्रतिकेजी १ सय रुपैयाँ पर्ने पाइपको मूल्य अहिले १ सय १५ रुपैयाँसम्म पर्ने गरेको छ ।
‘पहिले पनि उद्योगीहरुले मनोपोली गरेका हुन्, अहिले पनि सामग्रीको मूल्य बढाए, दिनप्रतिदिन १/२ रुपैयाँ सामानको मूल्य बढेर आइरहेको छ,’ उनले भने ।
यस्तै, निर्माण सामग्री व्यवसायी संघका उपाध्यक्ष दिपक श्रेष्ठले पनि डण्डी लगायत फलामजन्य सामग्रीको मूल्य बढेको बताए । अहिले प्रतिकेजीमा २ देखि ५ रुपैयाँसम्म मूल्य बढेको धारणा राखे । उनले भने अन्तर्राष्ट्रिय रुपमै निर्माण सामग्रीको मूल्य बढेको कारण उद्योगीहरुले निर्माण सामग्रीको मूल्य बढाएको तर्क गर्ने गरेको धारणा राखे ।
यस्तै, अहिले खानीजन्य निर्माण सामग्रीको मूल्य पनि वृद्धि भएको छ । अहिले एक ट्रिपर गिट्टी तथा बालुवाको मूल्य ३२/३३ हजार रुपैयाँसम्म पर्ने गरेको व्यवसायीहरुको भनाई छ ।