काठमाडौंको कलङ्कीमा ढुङ्गा हानेर पुरुषको हत्या

होमल्याण्ड खबर

२०७७ चैत्र ८ गते, आईतवार १२:२३ मा प्रकाशित

काठमाडौंको कलङ्कीमा ढुङ्गा हानेर एक पुरुषको हत्या भएको छ । आज बिहान अन्दाजी ५५ वर्षीय चौधरी थरका पुरुषको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले चौधरीको हत्या आरोपमा सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्तको टोलीले अभियुक्त थापालाई आज बिहान १० बजे कलङ्कीको ढुङ्गे अड्डाबाट पक्राउ गरेको हो।

पक्राउ परेका थापाले सडकमा सुतिरहेका चौधरीलाई ढुङ्गाले हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

ढुङ्गा लागेर घाइते भएपछि चौधरीलाई सहिद अस्पताल भर्ना गरिएको थियो। टाउकामा चोट लागेको चौधरीको उपचारकै क्रममा मृत्यु भएको हो । मृतको अन्य विषयमा भने सनाखत हुन सकेको छैन।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।