भारतका आठ राज्यमा पुन: लकडाउन

होमल्याण्ड खबर

२०७७ चैत्र ८ गते, आईतवार १४:१० मा प्रकाशित

काेराेना भाइरसकाे संक्रमण तिव्र गतिमा फैलिएसँगै भारतका आठ राज्यमा लकडाउन गरिएकाे छ ।

महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ । महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको छ । गुजरात र पन्जाबका केही सहरमा रात्रिकालिन कर्फ्यु लगाइएकाे छ भने केही ठाउँमा स्कुल कलेज बन्द गरिएको छ । यस्तै, मुम्बई सहरमा कोराना परीक्षण अनिवार्य गरिएको छ ।

परीक्षण गर्न अस्वीकार गर्नेलाई कारबाही गरिने त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्  । भारतमा पछिल्लो तीन दिनमा एक लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म १ करोड १५ लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ भने एक लाख ५९ हजारभन्दा धेरैको ज्यान गुमाइसकेका छन् ।