काठमाडौं महानगरमा कति छ सक्रिय कोरोना संक्रमितको संख्या ?

होमल्याण्ड खबर

२०७७ चैत्र ९ गते, सोमबार १४:४६ मा प्रकाशित

छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ लहरपछि नेपालमा पनि सतर्कता अपनाउन सरकारले आग्रह गरेकाे छ । पछिल्ला दिनमा छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सरकारले आजबाट सभा, जुलुस, भेला, जमघट नगर्न आग्रह गरेकाे हाे ।

कोरोना भाइरस नियन्त्रणका लकडाउन गरेको एक वर्ष पुग्न केही दिनमात्रै बांकी रहँदा मन्त्रालयले फेरि पहिला झैं सूचना प्रकाशित गरेर सावधानी अपनाउन भनेको हो।

मन्त्रालयले सभा, सम्मेलन नगर्न भनेपनि राजधानी काठमाडौंमा दैनिकजसो कार्यक्रमहरु भइरहेका छन्। राजनीतिक कार्यक्रमहरु बढ्दो छ। सरकारले मास्क लगाउन र सतर्कता अपनाउन भने पनि त्यो पालना भएको देखिँदैन।

सरकारले सूचना जारी गरेसँगै कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको काठमाडौं महानगर फेरि संक्रमण बढ्ने हो कि भन्ने भयमा छ। हालसम्म महानगरमामात्रै ३४ हजारभन्दा बढीमा कोराना संक्रमण पुष्टि हुँदा २५४ जनाको मृत्यु भइसकेको छ। काठमाडौंमा मात्रै १ लाख ३ हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ।

देशभर संक्रमित पहिचान भइरहेपनि काठमाडौं महाननगरभित्र केही समय देखि भने संक्रमणको अवस्था न्यून रहेको छ।

महानगरको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागको  विवरण अनुसार चैत ८ गते रातिसम्म महानगरभित्र १ जना मात्रै सक्रिय कोरोना संक्रमित रहेका छन्। वडा २८ मा १ जना संक्रमति होम आइसोलेसनमा रहेको विभागले जनाएको छ।