९ मंसिर २०८१, आईतवार
अब मेराे सेयर तथा डिम्याट खाता नविकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएकाे छ । साे सम्बन्धी खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग (सीडीएससी) बीच सम्झाैता भएकाे छ ।
यससँगै मेराे सेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सकिने भएकाे छ । साथै, उक्त खाता नविकरण गर्दा कुनै पनि शुल्क नलाग्ने भएकाे छ ।
सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच सम्झौता भएको हो । यस अन्तर्गत अब मेराे सेयर र डिम्याट खाताकाे नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएकाे छ । डिम्याट खाताधनीले मेरो सेयरको हाेम स्क्रिनमा लग-इन गरी त्यहाँ रहेकाे प्राेफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको छ ।
सेयर डिम्याट खाता र मेरो सेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेराे सेयर खाता निष्क्रिय हुने गरेको छ । खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको सेयर स्थानान्तरण गर्न सकिँदैन । साथै विभिन्न कम्पनीले निष्काशन गर्ने प्राथमिक सेयरहरु (आईपीओ) मा पनि आवेदन गर्न सकिँदैन ।
‘अब ३० लाख भन्दा बढी खाताधनीहरूले खल्ती एप डाउनलोड गरी अनलाइन डिम्याट र मेरो सेयर नवीकरण गर्न मिल्ने भएको छ। यसले थप जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु। साथै यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठूलाे योगदान पुर्याउने पनि विश्वास राख्दछु।’, खल्तीका सहायक प्रबन्धक भूर्तेलले बताए ।
लगानीकर्ताहरू यसअघि डिम्याट खाता संचालक मेराे सेयर र कम्पनी (डिपी) को कार्यालय धाएर डिम्याट खाताकाे नवीकरण शुल्क तिर्दै आएका थिए ।
खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १७ लाखभन्दा बढी छन् ।
कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?
‘खल्ती’ एप लिंकबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ ।