७ जेष्ठ २०८३, बिहीबार
चीनले नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप सोमबार नेपाल आउने भएको छ ।
चीनले दिने आठ लाख डोज खोप लिन सरकारले नेपाल एयरलाइन्सको चार्टर्ड जहाज आइतबार बेइजिङ पठाउने तयारी गरेको छ ।


गत फागुन १७ गते चीनले नेपाललाई अनुदानस्वरूप आठ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । तर, ढुवानी आफैँ गर्नुपर्ने चीनको सर्तका कारण सरकारले खोप ल्याउन चासो देखाएको थिएन ।
खोप ल्याउने विषयमा गत आइतबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र चिनियाँ राजदूत होउ यान्छीबीच छलफल भएको थियो । स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट खोपसँगै आठ लाख सिरिन्ज पनि ल्याइँदै छ । अनुदानको उक्त खोप बेइजिङमा तयारी अवस्थामा छ ।
खोप अभावका कारण दोस्रो चरणको अभियान प्रभावित भएको छ । त्यस्तै, पहिलो डोज दिइएकालाई दोस्रो डोज लगाउन पनि ढिला भएको छ । खोप खरिद गर्न नसकेपछि सरकारले १० हप्तापछि मात्रै दोस्रो डोज लगाउने निर्णय गरेको छ । नेपालमा गत १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।