७ जेष्ठ २०८३, बिहीबार
अब ट्रायलमा ६० प्रतिशत अंक ल्याउनेले सहज रुपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन पाउने भएका छन् । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्दै उक्त व्यवस्था राख्न लागेको हो ।
यसअघि विभागले ट्रायलको एक सय पूर्णाकमध्येमा ६० अंक ल्याउनेहरु लाइसेन्स पाउन योग्य रहने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । विभागको उक्त प्रस्तावलाई मन्त्रालयबाट सौद्धान्तिक सहमति आएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।


उनका अनुसार विभागले परिर्वतन गरेको मापदण्ड अनुसार गाह्रो मानिने प्यारामिटरलाई बढी र सजिला प्यारामिटरलाई कम अंकभार हुने गरी छुट्याईएको छ । त्यसका आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक ल्याउनेहरु लाइसेन्स प्राप्त गर्न योग्य रहनेछन् ।
‘ट्रायलका लागी ‘एट’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्कदासम्म विभिन्न प्यारामिटरमा अंक बाडिँनेछ । जसमा फिगर ८ टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, ¥याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक/फरक अंकभर दिएर परीक्षा लिइनेछ’, उनले भने, ‘कुनै एक प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार ल्याएमा लाइसन्स लिन पाउँछन् ।’
हाल ट्रायलमा सहभागी मध्येमा २५ प्रतिशतले मात्र लाइसेन्स पाउनका लागि योग्य रहने गरेका थिए । सामान्य गल्तीहरु गर्दा समेत लाइसेन्स पाउँन नसक्दा नक्कली लाइसेन्स लिने र घुस दिएर सवारी चालक अनुमतिपत्र निकाल्ने प्रवृत्तिमा पनि कमी आउने अनुमान गरिएको उनी बताउँछन् ।
अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन् । त्यस्तै ८ कटाएको निश्चित अंक हुनेछ । यस्तै–यस्तै विभिन्न प्यारामिटर हुनेछन्,’ घिमिरेले भने, ‘समग्रमा ट्रायलका सानातिना कडा नियम अलि खुकुलो बनाउन लागिएको हाे ।’
घिमिरेका अनुसार लिखित परीक्षाको ढाँचामा केही परिवर्तन गर्न लागिएकाे छ । ‘५ सय वा एक हजार प्रश्नका सेट हामी सुरुमै सार्वजनिक गर्नेछौं । प्रश्न त्यहीँ भित्रबाट मात्रै सोधिनेछन्,’ उनले भने ।