७ जेष्ठ २०८३, बिहीबार
अब उपत्यकाकाे कोरिडोरहरुमा पनि ट्राफिक बस्ने भएका छन् । कोरिडर सडक व्यवस्थापनको र सवारी अनुगमन लागि उपत्यकाकाे कोरिडोरहरुमा पनि ट्राफिक बस्ने भएका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक कार्यक्रमकाबीच कोरिडोर सडक व्यवस्थापन टोली परिचालन गरेको छ ।


महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई संचालनमा रहेका उपत्यकाको मुख्य कोरिडोरहरु विष्णुमति, वाग्मती, धोविखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन यस्ताे योजना लागु गरिएकाे महाशाखाले जानकारी दिएकाे छ ।
आजदेखी करिडोरलाई चौबिस खण्डमा विभाजित गरी कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरि परिचालन गरेको छ ।
महाशाखाले कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
उक्त टिमले आम सवारी चालकहरुलाई आफ्नो गन्तव्यसम्म पुग्नका लागी छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहन समेत गर्नेछ । मुख्य सडकको चोक जक्सनको क्युमा बस्नुपर्ने विकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरी समय तथा ईन्धनको समेत बचत हुने अपेक्षा रहेको एसएसपी भट्टराईले बताए ।