भारतबाट आएका ३ नेपालीमा नयाँ भेरियन्टको कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७७ चैत्र २२ गते, आईतवार ११:२९ मा प्रकाशित

भारतबाट आएका तीन जना नेपालीमा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका कञ्चनपुर, डडेल्धुरा र डोटीका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भएको हो ।

एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यसमध्ये उनीहरुमा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं पठाइएको थियो । संक्रमित भएका तीनै जना अहिले होम आइसोलेसनमा छन् ।

भारतबाट गौरीफन्टा हुँदै स्वदेश फर्केका सबैको कोरोना परीक्षण गरिएको छैन। नाकामा राखिएको हेल्थ डेस्कमा केहीको मात्रै एन्टिजेन र स्वाब परीक्षण गर्ने गरिएको छ।

भारतमा कोरोनाको दोस्रो लहर सुरुभएको भन्दै विज्ञहरुले नेपालका सीमा नाकामा सुरक्षा व्यव्स्था कडाइ गर्नुपर्नै बताउँदै आएका छन् ।