भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना

होमल्याण्ड खबर

२०७७ चैत्र २६ गते, बिहीबार १३:५२ मा प्रकाशित

सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ ।

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

कञ्चनपुर, डडेल्धुरा र डोटीका एकरएक जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

‘अहिलेको कोरोनाभन्दा फरक किसिमको कोरोना संक्रमण देखापरेको हो ।’ कार्कीले भने, ‘अहिलेको भन्दा फरक कोरोना पुष्टि भएको छ। तर कुन प्रकारको हो भन्ने थाहा भइसकेको छैन ।’ उनका अनुसार त्यसका लागि स्वाब विदेश पठाउनु पर्ने हुन्छ । अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन् ।

पछिल्लो समयमा भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएपछि रोगजारीका लागि त्यहाँ पुगेकाहरु स्वेदश फर्किइरहेका छन् ।