७ जेष्ठ २०८३, बिहीबार
सरकारले पछिल्लो समय कोरोना भाइरस संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् ।
शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा काठमाडौंसहित पूमुख सहरहरुमा तीन सातासम्म विद्यालय बन्द गर्ने र अनलाइनमार्फत पठनपाठन गर्ने विषयमा छलफल भएको थियो । यद्यपि यो विषयमा निर्णय भइसकेको छैन ।


निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनले आज एक विज्ञप्ति पारी गरेर स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताएको छ ।
प्याब्सनले कोरोना संक्रमण दर मुलुकभर एउटै नभएकाले यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केही निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले विद्यालय सञ्चालन गर्न दिन आग्रह गरेको छ ।
भौगोलिक विकटता, अभिभावकको आर्थिक सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता र शिक्षकको प्राविधिक दक्षताका कारण अनलाइन कक्षा प्रभावकारी नहुने प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
