दोलखामा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ जना घाइते

होमल्याण्ड खबर

२०७७ चैत्र ३१ गते, मंगलवार १०:३० मा प्रकाशित

दोलखामा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै प्रदेश नम्बर ३–०३–२३ च ७५८० नम्बरको बोलेरो गाडी सोमबार राति करिब ११ बजेतिर विगु गाउँपालिका– ४ स्थित गोलाईमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि विगु गाउँपालिका– ३ का २४ वर्षीय चण्डीका थापा, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीया राधा खड्का र ३५ वर्षीय विनोद केसीको मृत्यु भएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

तीनजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा रोल्वालिङ सामुदायिक अस्पताल सिँगटीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका विगु–३ का तीन वर्षीय बालक सलान खड्का, ४१ वर्षीया कविता खड्का, विगु– ३ का वडाध्यक्ष श्रीराम खड्का र विगु– ४ की ७० वर्षीया तीर्थ कुमारी खड्काको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अन्य घाइते चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर फर्किएका छन् । क्षमताभन्दा बढी यात्रु बोकेको गाडी घुम्ति काट्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।