९ मंसिर २०८१, आईतवार
भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहराको पुनर्निर्माण पछि आगामी बैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षको अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सोमबार राजधानीमा आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको समापनमा उनले भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनर्निर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उदघाटन गरिने जानकारी दिए ।
भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनर्निर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । सम्पदाका मौलिक एवं आकर्षक कलाकृति जोगाउन भूकम्पपछि प्रबलीकरणको प्रविधि भित्रिनु सुखद् विषय भएको उनको भनाइ छ ।
जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यकामा स्ववासी, सुकुम्वासी र सार्वजनिक जग्गामा बसेकाका कारण पुनर्निर्माणले गति लिन नसकेको बताए । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पुनर्निर्माणसम्बन्धी सेवा प्रवाह गर्न टिआई नेपालको भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमले सहयोग एवं सतर्क बनाएको विचार व्यक्त गरे ।
उनले प्राधिकरण, टिआई नेपाललगायत सरोकार भएका निकायको सहयोगमा चाँगुनारायण नगर क्षेत्रमा अनुपस्थित जमिन्दार कहाँ बसोबास गर्ने एक हजार भूकम्प पीडितको समस्या समाधान गर्न सफल भएको अनुभवसमेत सुनाए ।
भूकम्प अति प्रभावित १४ जिल्लामा सञ्चालित कार्यक्रम अवधिमा ५१ हजार व्यक्ति प्रत्यक्ष रुपमा संलग्न भएका छन् । कार्यक्रमले भूकम्पपछिको पुनर्निर्माणमा सदाचार प्रवर्धन गर्न सहयोग गरेको अनुभव सरोकार निकायका अधिकारीले बताएका थिए । टिआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले भूकम्पपछिको पुनर्निर्माणमा सदाचार कार्यक्रम सकिए पनि भ्रष्टाचार विरुद्ध सदाचार अभियानबाट पुनर्निर्माणका कामको विषय भने निरन्तर अनुगमन गरिने बताए ।