कमलपोखरी पुनःनिर्माणको काम ८५ प्रतिशत सम्पन्न

होमल्याण्ड खबर

२०७७ चैत्र ३१ गते, मंगलवार १३:११ मा प्रकाशित

कमलपोखरी पुनःनिर्माणको काम ८५  प्रतिशत सकिएको छ । निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले कमलपोखरी पुनर्निमाणको ८५ प्रतिशत काम सकिएको र बाकिँ काम पनि निरन्तर भइरहेको बताए । उनले आगामी दुई हप्ताभित्र पुनर्निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गरिने समेत जानकारी दिए ।

पोखरी वरपर सौन्दर्यको काम ,काठको केही कलात्मक बुट्टा कुँद्ने काम सकिएपछि अहिले पोखरीमा करिब २० लाख लिटर पानी भरिएको काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विभागका इन्जिनियर प्रेम श्रेष्ठले जानकारी दिए । उनले पोखरीमा पूरा पानी भर्न करिब साढे दुई करोड लिटर आवश्यक पर्ने र केही दिनभित्रै पानी भरिने बताए ।

एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते कमलपोखरी पुनःनिर्माणका लागि शिलान्यास भएको थियो ।धनञ्जय कँडेल जेभी रानीबारीले पोखरी पुनःनिर्माणको काम गरिरहेको छ ।

निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ । उद्यान अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ ।