काठमाडौं उपत्यकासहितका सहरमा १ महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

होमल्याण्ड खबर

२०७७ चैत्र ३१ गते, मंगलवार १५:१४ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ।

मन्त्रालयले पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न सिफारिस गरेको हो । मन्त्रालयले उक्त अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन सुझाव दिएको छ ।

नेपालमा अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिकाले त्यसको  नियन्त्रणका लागि कम्तीमा ३० दिन विद्यालय बन्द गरी अनलाइनमार्फत कक्षा सञ्चालन गर्न  खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

विद्यालय बन्द गराउनेबारे कोभिड–१९ व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा समेत छलफल भए पनि निर्णय हुन भने बाँकी रहेको उनले बताए ।

कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।  सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन्।

नेपालमा नयाँ स्वरुपको कोभिड–१९ भाइरस देखापरेपछि विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् ।