७ जेष्ठ २०८३, बिहीबार
काठमाडौं उपत्यकासहित देशभर कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नाकामा निरीक्षण गर्न थालेको छ ।
प्रशासनले आज नागढुंगा नाकामा चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । निरीक्षणमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहपनि सहभागि भएका थिए।


नाकाबाट आउजाउ गर्ने बसलाई जाँच गरेर मास्क लगाए नलगाएकाे निरीक्षण गरिएकाे र थानकोटमा रहेको हेल्थ डेस्कलाई प्रभावकारी बनाइएको जिल्ला अधिकारी पराजुलीले बताए ।
गत चैत २३ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले नाकामा अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको थियो ।
हाल नाकाहरुमा एन्टिजेन परीक्षणका लागि जनशक्ति कम भएको पाइएकाले यसबारे स्वास्थ्य मन्त्रालयलाई खबर गरिसकेको उनले बताए । उनका अनुसार हाल नाकामा एन्टिजेन परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली खटिएको छ ।