काठमाडौं उपत्यकाभित्र जग्गाको नक्सा अनलाइनबाट प्रिन्ट गर्न सकिने

होमल्याण्ड खबर

२०७८ बैशाख २ गते, बिहीबार १२:४४ मा प्रकाशित

काठमाण्डौ उपत्यकाका विभिन्न ८ वटा नापी कार्यालयमार्फत जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने भएको छ ।

देशभरका १२६ कार्यालयबाट प्रदान गरिने सेवालाई क्रमिक रुपमा प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले अनलाइन प्रणाली विकास गरिएको नापी विभागले जनाएको छ ।

घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनी नापी कार्यालय धाउन नपर्ने गरेर अनुकूल ठाउँबाट नक्सा प्रिन्ट गर्न मिल्ने प्रणाली विकास गरिएको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए।

अनलाइन प्रणाली मेरो कित्तामार्फत सेवाग्राहीले सेवा लिन सक्ने उनको भनाइ छ । नक्सा, प्लट रजिष्टर, फिल्ड रेखाङ्कन निवेदनलगायत सेवा अनलाइनबाटै पाइने प्रणाली मेरो कित्ताको आज प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दै छन् ।