७ जेष्ठ २०८३, बिहीबार
गर्मीयाम सुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
जिल्लाका ३० वटा जङ्गलमा आगलागी भएको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार जिल्लाका ३० सामुदायिक वनको ३३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । ढोरपाटन शिकार आरक्षका बुँकी क्षेत्र, गलकोटको घुम्टे, रेश सिगानाको बुछुङ सल्लेरी सामुदायिक वन, मालिका सामुदायिक वनसहित ३० वटा वनमा आगलागी भएको सो कार्यालयका सहायक वनअधिकृत मदन कँडेलले जानकारी दिए । लामो समयको खडेरी र मानवीय लापरवाहीका कारण वर्षेनी आगलागीका घटना हुने गरेको उनको भनाइ छ ।


जिल्लामा सबैभन्दा बढी काठेखोलाको धम्जा, गलकोट र बरेङ गाउँपालिकाको जङ्गलमा आगलागी भएको सहायक वनअधिकृत कँडेलले बताए। “लामो समयदेखि खडेरी परेको छ, खेडरीले गर्दा सबै पातपतिङ्गर र काठजन्य वस्तु सुकेका हुन्छन्, थोरै सर्तकता नअपनाउँदा आगलागी भइहाल्छ, यस्तो समयमा निकै संयमता अपनाउनुपर्छ”, उनले भने नेपालमा डढेलो ९५ प्रतिशत मानवीय कारणले लाग्ने गरेको पाइएको छ ।
बागलुङमा अन्य कारणभन्दा मानवीय लापरवाहीका कारणले गर्दा आगलागीका घटना हुने गरेको सहायक वन अधिकृत कँडेलले बताए ।
आगलागीको घटना न्यूनीकरणका लागि कार्यालयले समुदायमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ । चालू आर्थिक वर्षको हालसम्म आगलागीबाट एक करोड ८७ लाख ६३ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकबाल हवारीका अनुसार आठ महिनाको अवधिमा आगलागीमा परी तीन जना घाइते, २९ चौपायाको मृत्यु र १८ चौपाया घाइते भएका छन् । त्यस्तै १९ घर र १५ गोठ पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ ।