प्रधानमन्त्रीद्वारा ‘मेरो कित्ता’ अनलाइन सेवाको शुभारम्भ

होमल्याण्ड खबर

२०७८ बैशाख २ गते, बिहीबार १६:४९ मा प्रकाशित

आजबाट आफैँले इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न मिल्ने भएको  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज नापी विभागमा आयोजित औपचारिक समारोहबाट घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानीलगायतका व्यवस्थासहितको  ‘मेरो कित्ता’ अनलाइन सेवाको शुभारम्भ गरेका छन् ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब  आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्कबुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर आफैँले शुल्कबुझाउन सकिने विभागले जनाएको छ ।

यो सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा आजै बाट लागु भएको छ । एक हप्ताभित्र काठमाडौं उपत्यकाभरी र त्यसपछि क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट यो सेवा लिन सकिने विभागले जनाएको छ ।

मेरो कित्ता सेवा सुरु भएपछि नापी कार्यालयमा हुने भिडभाड र होहल्ला कम हुनुका साथै सेवाग्राहीलाई सुविधा हुने विभागका अधिकारीहरू बताउँछन् ।