७ जेष्ठ २०८३, बिहीबार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाबाट अति प्रभावित भएका काठमाडौं उपत्यकाकासहित देशका १४ जिल्लामा विद्यालय आंशिक रुपमा खोल्ने वा बन्द गर्ने भन्ने निर्णय गर्ने अधिकार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आज मन्त्रालयमा बसेको बैठकले विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीसीएमसीलाई दिएको बैठकमा सहभागि भएका एक अधिकारीले जानकारी दिए ।


यस्तै बैठकले सबै प्रकारका शैक्षिक संस्थाहरुले अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनुपर्ने, विद्यालयभित्र सभा, सम्मेलन, वार्षिक उत्सव गर्न नपाइने मापदण्ड तोकेको शिक्षामन्त्री श्रेष्ठका प्रेस संयोजक ईश्वर ढकालले जानकारी दिए ।
कोरोना जोखिमका कारण बन्द भएका विद्यालयहरुले ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार विद्यार्थीलाई सिकाइसँग जोड्नुपर्ने निर्णय समेत बैठकले गरेको उनको भनाइ छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले बिहिबार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई कोरोना संक्रमणको उच्च जोखिमको जिल्लामा वर्गीकरण गरेको थियो ।
मन्त्रालयले अति प्रभावितमा परेका ती जिल्लामा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिन उनले अपिल गरेको थियो ।