काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा वर्षा

होमल्याण्ड खबर

२०७८ बैशाख ९ गते, बिहीबार ०७:५३ मा प्रकाशित

काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहानैदेखि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका विभिन्न भागमा पानी परेको छ । पानी परेसँगै काठमाडौँ उपत्यकामा चिसो महसुस गरिएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार वर्षा गराउने मौसम प्रणाली भारतको दक्षिणी क्षेत्र हुँदै वाग्मती प्रदेशमा आइपुगेकाले वर्षा भएको हो ।

यो प्रणाली गण्डकी प्रदेश हुँदै अन्यत्र पनि विस्तार हुने उनको भनाइ छ । उनले प्रिमनसुनको समय भएकाले हावाहुरी र चट्याङको अत्यधिक सम्भावना रहेकाले सतर्क र सुरक्षित रहन आग्रह गरेकी छन् ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आँशिकदेखि सामान्य बदली रही  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश  र वाग्मती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरीसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना पनि छ ।

आज दिनभर पानी पर्ने र बादल लाग्ने क्रम चलिरहने तर घाम भने नलाग्ने मौसमविद् मानन्धरको भनाइ छ ।