रुसको स्पेनबिरुद्ध वास्तविक परीक्षा

होमल्याण्ड खबर

२०७५ असार १७ गते, आईतवार ०५:४२ मा प्रकाशित

सन् २०१० को विश्व विजेता स्पेनले समूह चरणमा आश्चर्यजनक रुपमा इरान र मोरक्कोबिरद्ध संघर्ष गर्नुपरेको थियो । मोरक्कोसँगको खेलमा डेभिड डि जियाको गम्भीर त्रुटी गरे पनि डिएगो कोष्टाले स्पेनको उद्धार गरेका थिए । स्पेनिस टोलीमा इस्को असाधारण देखिन्छन् । र, यही स्पेनले घरेलु टोली रुससँग लुज्निकी रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।

यता सुरुआती दुई खेलमा साउदी अरव र इजिप्टबिरुद्ध शानदार देखिएको रुसले आफ्नो वास्तविक परीक्षा अर्थात उरुग्वेबिरुद्धको खेलमा खरो उत्रन सकेन । विशेष गरी टिममा त्यस्ता जिम्मेबार प्रतिभा देखिएनन् जसले दवाव थेग्न सकुन् ।

रुसका स्ट्राइकर अर्तिम ज्युवाले स्पेनबिरुद्धको अन्तिम १६ को स्पर्धा सुरु हुनुअघि भनेका छन् कि आफ्नो टोली विश्वकप यात्रामा साहसी अण्डरडगको रुपमा प्रस्तुत हुनेछ । ज्युवा स्टानिलाभ चर्चेसोभको टोली रुसका मुख्य हतियार हुन्, जसले पहिलो खेलमा साउदी अरव र दोस्रो खेलमा इजिप्टबिरुद्ध गोल गरेका थिए । समूह चरणको अन्तिम खेलमा उरुग्वेसँग ३–० ले पराजित भएपछि अगाडिका खेलहरुमा रुसको उत्साह कमजोर भएको छ । यद्यपी स्टार खेलाडीहरुले भरिएको स्पेनिस टोली बलियो रहेको ज्युवाले स्वीकार गरेका छन् । उनले भनेका छन् कि यो उनीहरुका लागि बलियो प्रतिस्पर्धी हो ।

‘३२ वर्षमा पहिलो पटक हामी नकआउट चरणमा पुगेका छौं ।’ उनले भने, ‘हेर्नुहोला कि हामी के गर्न सक्छौं । हाम्रो लागि यो खेल बक्सिङ फाइटजस्तो हो । एकातर्फ युवा र साहसी व्यक्ति र अर्कोतर्फ अनुभवी सेनानी । हेरौं, कसले जित्छ ।’

‘जुनसुकै टिमले जुनसुकै टोलीलाई हराउने सामर्थ्य राख्छ ।’

ज्युवा स्पेनिस स्टार डिफेण्डर सर्जियो रामोस र जेरार्ड पिकेलाई कमजोर बनाउन केन्द्रित रहनेछन्, तर, उनले बुझेका छन् कि त्यो काम सहज छैन । उनले समूह चरणमा स्पेनको संघर्ष पनि बुझेका छन् ।

मलाई लाग्दैन कि स्पेन कमजोर टिम हो, उनीहरु एक शीर्ष टोली हुन् । समूह चरणमा भएका कमजोरी गणना हुँदैन ।’ उनले भने, ‘हामीलाई थाहा छ कि स्पेनबिरुद्ध हामीले के गर्नुपर्छ । तर, निश्चित रुपमा उनीहरु मुख्य दावेदार हुन् । यो निकै कठिन खेल हुनेछ । उरुग्वेले हामीलाई एउटा राम्रो सवक सिकाएको छ ।’

रुसले लुज्निकी रंगशालामा विश्वकपको सुरुआती खेल साउदी अरवसँग खेलेको थियो । घरेलु दर्शकलाई मन्त्रमुग्ध बनाउँदै रुसले ५–० गोलले खेल जितेको थियो । स्पेनिस मिडफिल्डर मार्को एसेन्सियोले भनेका छन् कि आइतबारको खेल पनि घरेलु दर्शकमाझ निकै शानदार हुनेछ ।

उनले प्रशिक्षक फर्नाण्डो हेइरोको प्रोत्साहनको खुलेर प्रशंशा गरे । रियल मड्रिडका स्ट्राइकर एसेन्सियोले भने, ‘हामीसँगको खेलमा रुसको पछाडि उनीहरुका समर्थक हुनेछन् । हामी यस्तो म्याच खेल्न गइरहेका छौं, जुन फाइनल जस्तै हुनेछ । हामी कि जित्छौं, कि घर फर्कन्छौं ।’

‘हाम्रा प्रशिक्षक हेइरो उत्कृष्ट लिडर हुन् । उनले हामीलाई हरेक समय प्रेरित गरिरहेका छन् ।’

रुसले शुक्रबार पूर्ण टोलीका साथ प्रशिक्षण गरेको थियो । जहाँ एलन जागोभ पनि सामेल थिए । जो, साउदी अरवबिरुद्धको खेलमा मात्र २४ मिनेटमै चोटका कारण बाहिरिएका थिए ।प्लेयर्स टू वाच

डिएगो कोष्टा, स्पेन

एथ्लेटिको मड्रिडका स्ट्राइकर डिएगो कोष्टाले विश्वकपमा ३ गोल गरिसकेका छन् । पोर्चुगलबिरुद्धको खेलमा शानदार दुई गोल गरेका उनले इरानबिरुद्ध एक गोल गरेका थिए । रुसबिरुद्धको आजको खेलमा उनी रंगशालाभर रहेका रुसी समर्थकलाई चुप गराउन उपयुक्त मौकाको खोजीमा हुनेछन् ।

इगर अकिनफिभ, रुस

रुसी क्लव सिएसकेए मस्कोभाका गोलरक्षक अकिनफिभले जारी विश्वकपमा आफूलाई प्रमाणित गर्न सकेका छैनन् । तर, स्पेनको शक्तिशाली आक्रमणको डटेर सामना गर्न उनले सर्वश्रेष्ठ प्रदर्शन गर्नु जरुरी हुन्छ ।

म्याच फ्याक्ट्स

– सोभियत संघ टुक्रिएपछि रुसले स्पेनलाई अहिलेसम्म हराउन सकेको छैन । २ बराबरी र ४ हार व्यहोरेको छ । पछिल्लो समय दुई टोलीले नोभेम्बर २०१७ मा ३–३ गोलको बराबरी खेलेका थिए ।

– स्पेन पछिल्लो २३ खेलदेखि अपराजित छ (१५ जित र ८ बराबरी) । जुन, विश्वकपमा सहभागी ३२ टोलीमध्ये सबैभन्दा धेरै हो । उसले सन् २०१६ को युरोकपको नकआउट चरणमा इटलीसँग २–० ले पराजित भएयता एउटा खेल पनि हारेको छैन ।

–सन् २००६ को विश्वकप यता स्पेनले खेलेका ३३ मध्ये ३२ खेलमा बल पोजिसनमा विपक्षीलाई पछि पारेको छ । सन् २००८ को युरो फाइनलमा भने उसलाई जर्मनीले पेलेको थियो ।

– रुसले समूहको अन्तिम खेलमा उरुग्वेबिरुद्ध मात्र ३ शट प्रहार गर्न सकेको थियो । सन् १९९४ यता घरेलु टोलीले गरेको सबैभन्दा थोरै आक्रमण हो यो । त्यतिबेला अमेरिकाले ब्राजिलबिरुद्ध पनि ३ शटमात्र प्रहार गर्न सकेको थियो ।

– सन् २०१० को फाइनलमा नेदरल्याण्ड्सलाई हराउन विजयी गोल गरेका स्पेनिस स्टार मिडफिल्डर आन्द्रेस इनिएष्टाले त्यसयताका सबै ठूला प्रतियोगितामा गरी ३२ शट प्रहार गरेका छन्, तर गोल गर्न असमर्थ छन् ।