७ जेष्ठ २०८३, बिहीबार
सरकारको निर्णय विपरीत विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालक पक्राउ परेका छन् । सरकारले कोरोना भाइरस संक्रमण तीब्र रुपमा वृद्धि भएपछि सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभर बन्द गर्न निर्देशन दिएको थियो ।
तर उक्त निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालन गरेपछि उनीहरुलाई आज नियन्त्रणमा लिएको उनले बताए । आज बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले अटेर गर्ने विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।


नियन्त्रणामा लिएका विद्यालय सञ्चालकहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुविरुद्ध कस्तो कारवाही गर्ने भन्ने विषयमा आजै बस्ने बैठकले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।