७ जेष्ठ २०८३, बिहीबार
सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो (सोमबार) बसेको बैठकले संक्रमणको जोखिम भएका जिल्लामा हाललाई १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए ।
संक्रमण तीव्र भएपछि काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले आगामी बिहीबारदेखि लागू हुने गरी वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरे पनि मन्त्रिपरिषद्को निर्णयअनुसार यो अवधि वैशाख मसान्तसम्म रहने छ । यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले महामारीको जोखिममा रहेका क्षेत्रमा कडा आदेश जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।


सञ्चालन गर्न पाइने क्षेत्र : निषेधाज्ञाको समयमा अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन, फोहोरमैला व्यवस्थापन, खाद्य पसल (बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म), औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसल, डिपार्टमेन्ट स्टोरको ग्रोसरी (बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म), बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न पाइने छ ।
बन्द हुने क्षेत्र : सार्वजनिक तथा निजी सवारी साधन, होटेल÷रेस्टुरेन्ट÷अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै निजी व्यवसाय, सभा, सम्मेलन, गोष्ठी, तालिम, सपिङ मल, सैलुन, जिमखाना, ब्युटिपार्लर, खेलकुद, संग्रहालय, पुस्तकालय, सिनेमा हल, पार्टी प्यालेस निषेधाज्ञा अवधिभर बन्द गरिने छन् ।