प्रतिपक्षीको विरोधले संसद बैठक स्थगित

होमल्याण्ड खबर

२०७५ असार १७ गते, आईतवार ०७:१७ मा प्रकाशित

सरकारले संसद् नियमावलीको नियम मिचेर प्रतिनिधिसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गरेको छ । विरोधका कारण आइतबारको संसद् बैठक आधा घण्टा स्थगित गरिएको छ ।
विधेयक पेश गर्ने विषयमा प्रतिपक्षसँग छलफल गर्न बैठक स्थगित गरिएको हो। अहिले सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेको बताइएको छ।
यसअघि भएका सहमति लत्याउँदै सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरिसकेको छ ।

दुईपटक अध्यादेशमार्फत ल्याइएका कतिपय विषय हटाउँदै अध्यादेशको समय सकिनै लागेका बेला सरकारले त्यसमा रहेका विशेष प्रावधान हटाएर दर्ता गरेको हो । शुक्रबार दर्ता गरिएको विधेयक आजै फाष्ट ट्रयाकबाट पारित गर्ने तयारी गरिएको छ ।