डिजिटल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको प्रधानमन्त्रीको दाबी

होमल्याण्ड खबर

२०७८ बैशाख १९ गते, आईतवार ११:४६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा डिजिटल पूर्वाधार तथा प्रविधिको विकास र विस्तार गरी अर्थतन्त्रमा सञ्चार तथा सूचना प्रविधिको योगदान बढाउन र सुशासन, समृद्धि र विकासका लागि सरकारले डिजिटल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको बताएका छन् ।

चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ को अवसरमामा आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीको समयमा सूचना प्रविधिको माध्यमबाट सचेतना जगाउने कार्यमा सफलता प्राप्त भएको समेत बताएका छन् । प्रधानमन्त्री ओलीले सूचना प्रविधिको बढ्दो प्रयोग, निरन्तर विकास, विस्तार एवं गतिशीलताबाट प्राप्त अवसरहरुलाई सदुपयोग गर्न आग्रह गर्दै सूचना प्रविधिको विकाससँगै हुनसक्ने दुरुपयोगलाई रोक्न सक्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले साइबर सुरक्षा तथा सरकारी तथ्याङ्कको सुरक्षासम्बन्धी विषयमा ध्यान केन्द्रीत हुन आवश्यक रहेको भन्दै डिजिटल प्रविधिको प्रयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी अर्थतन्त्रको बृहत्तर आयामहरुको रुपान्तरण गर्न, विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्न, प्रविधिको प्रयोगलाई विश्वसनीय बनाउन सम्बन्धित पक्षलाई ओलीले आग्रह गरेका छन् ।

‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने नाराका साथ आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ मनाइँदै छ । सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धन गर्न हरेक वर्ष मे २ तारिखमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिएको छ ।