६ जेष्ठ २०८३, बुधबार
नर्भिक इन्टरनेशनल हस्पिटल ‘कोभिड अस्पताल’को रूपमा रूपान्तरण भएको छ ।
वर्तमान समयको आवश्यकतालाई दृष्टिगत गर्दै नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’को रूपमा रूपान्तरण गरेको हो । केही दिन अघिदेखि नै अस्पतालले यससम्बन्धी सेवा दिन शुरू गरिसकेको थियो ।


नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रित गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए । उनले बिरामीहरूको अनुरोधलाई दृष्टिगत गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रूपान्तरण गरेको प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा रूपान्तरणका लागि गरेको घोषणाको सिंहले स्वागत समेत गरेका छन् । नर्भिकले कोभिड संक्रमणको दोश्रो लहर सुरु भएसँगै यो अवस्थाको आँकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रूपान्तरण गरिसकेको उनले बताए ।
‘सरकारले समेत सोही अनुसारको घोषणा गरेकोमा हामी खुशी छौं । अब अरुले पनि आफ्नो सेवालाई कोभिड केन्द्रित गर्नुपर्ने देखिएको छ,’ उनले भने । कार्यकारी निर्देशक सिंहकाअनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ वटा शैय्यामध्ये ९० वटा शैय्या कोभिड शैय्याको रूपमा रूपान्तरित भइसकेका छन् । ती ९० वटा शैय्या कोभिडका बिरामीले भरिइसकेका छन् ।
नर्भिकमा रहेका ३५ वटा आइसीयू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ । ‘हाम्रो अस्पतालमा उपलब्ध बेडहरू अहिले भरिभराउ छन्,’ कार्यकारी निर्देशक सिंहले भने, ‘हामीले सरकारको नीति निर्देशनभित्र रहेर बेड संख्या थप गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छौं ।’