६ जेष्ठ २०८३, बुधबार
मन्त्रालयको सिफारिसविनै अक्सिजन, खोप र अन्य स्वास्थ्य सामग्री पाउनुपर्ने भन्दै एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूशन अफ नेपाल (अफिन) ले सरकारको ध्यानाकर्षण गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिसविना कुनै पनि निजी, सामुदायिक र गैरसरकारी अस्पतालमा अक्सिजन नदिनु भनी अक्सिजन उत्पादक संघ र कम्पनीहरुलाई गरेको पत्राचारप्रति खेद व्यक्त गर्दै अफिनले सहज रुपमा अक्सिजन आपूर्तिको माग गरेको छ ।


मुलुक कोभिड–१९ संक्रमणबाट आक्रान्त भएको अवस्थामा सरकारी तथा निजी क्षेत्र, सबै पक्ष एकजुट भएर उपचार सेवामा लाग्नुपर्नेमा एकपक्षीय रुपमा स्वास्थ्य मन्त्रालयबाट जारी निर्देशनले सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुलाई हतोत्साहित गर्ने काम गरेको भन्दै उनीहरुले तत्काल निर्णहरु सच्याएर संक्रमितको जीवन बचाउन बाटो खुला गरिदिन माग गरेका छन् ।
‘स्वास्थ्य मन्त्रालयको सम्बद्धतामा सेवा प्रदान नगरेका कोभिड अस्पताललाई कोभिड उपचारमा अति आवश्यक मानिएको रेम्डेसिभिर औषधि समेत आपूर्ति नगर्ने आदेशले कोभिड उपचार कार्यमा सँलग्न अस्पतालहरूलाई थप असहजता सृजना गरेको छ,’ अफिनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यक औषधि एवं प्राणवायु अक्सिजनको अभावमा निजी अस्पताललहरुले चाहेर पनि थप बिरामी भर्ना गर्न नसक्ने अवस्थाको सृजना भएको छ ।’
महामारीको यो अवस्थामा सरकारी निजी भनेर विभेद गर्नुको साटो राज्यले सरोकारवाला सबै पक्षलाई एकीकृत गरी विश्वासमा लिएर महामारीविरुद्ध सरकार युद्धस्तरमा लाग्नुपर्ने अफिनको भनाइ छ । वर्तमान समयमा परिस्थितिलाई झन जटिल नबनाउन अफिनले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, सीसीएमसीलगायत सम्पूर्ण निकायहरूसँग अनुरोध गरेको छ ।
‘राज्यले गम्भीर भई आफ्नो पूर्व निर्णयहरू सच्याई समस्याको समाधान तत्काल नगरेमा त्यसबाट उत्पन्नहुने कुनै पनि प्रतिकूल परिणामको सम्पूर्ण दायित्व पनि राज्यले नै व्यहोर्नुपर्ने कुरा हामी विनम्रतापूर्वक निवेदन गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘साथै, उक्त समस्या समाधानका लागि आवश्यक छलफल गरी समस्या समाधान गर्नेतर्फ अग्रसर भइदिन अफिन आह्वान गर्दछ ।’
अफिनमा देशभरका २०० वटा भन्दा बढी निजी अस्पतालहरु आवद्ध छन् ।