बेल्जियम क्वाटरफाइनलमा प्रवेश, जापान पराजित

होमल्याण्ड खबर

२०७५ असार १९ गते, मंगलवार ०५:२४ मा प्रकाशित

बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

२–० गोलले पछि परेको अवस्थामा खेल उल्टाउँदै बेल्जियमले जित हात पारेको हो । जापानले खेलको अन्तिम केही सेकेन्ड बेल्जियमलाई रोक्न नसक्दा हार ब्यहोरेको हो । अतिरिक्त समयमा बेल्जियमले गोल गर्न सफल भयो । बेल्जियमका लागि नासेर चाड्लीले गोल गर्दै बेल्जियमलाई क्वाटरफाइनलमा पुर्याए ।

यससअघि जान भेर्टोनघेनले खेलको ६९औं मिनेटमा गोल गर्दै बेल्जियमलाई २–१ गोलको स्थितिमा पुर्याएका थिए । उनले सुन्दर हेडर गोल गरेका थिए । त्यसको ५ मिनेटपछि नै अर्को गोल गर्दै बेल्जियमले जापानविरुद्ध २–२ गोलको बराबरीमा पुर्याएको थियो । यो पटक भने बेल्जियमका मरौने फेलाइनीले गोल गरेका थिए ।

यसअघि जापानका लागि जेन्की हरागुचीले खेलको ४८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले सुन्दर गोल गरेका थिए । त्यसको ४ मिनेटपछि खेलको ५२औं मिनेटमा टाकासी इनुइले गोल गर्दै जापानलाई २–० गोलको अग्रता दिलाएका थिए । जापानले उत्कृष्ट प्रदर्शन गर्दै ४ मिनेटभित्र अर्को गोल गर्न सफल भएको थियो ।

पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेपछि पहिलो हाफसम्म गोल गर्ने अवसर गुमाएको थियो । सुरुवाती समयदेखि नै बेल्जियमले बल नियन्त्रणमा लिएको थियो ।

रसियाको रोस्टोभ एरिनामा अन्तिम समयमा जापान चुक्न पुग्यो । बेल्जियमलाई पराजित गर्दै ऐतिहासिक सफलता नजिक पुगेर पनि पराजित भएको जापान विश्वकपबाट बाहिरिएको छ । यता, बेल्जियम भने क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्ने छ ।