सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाइयो
होमल्याण्ड खबर
२०७८ जेष्ठ १ गते, शनिबार १३:५६ मा प्रकाशित
काठमाडौंको सिभिल अस्पताललाई कोभिड – १९ डेडिकेटेड अस्पताल बनाइने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल १५० बेडको कोभिड- १९ अस्पतालमा रुपान्तरण हुने भएको हो ।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।
सो रकम अख्तियारीमा उल्लेख भए अनुसार अस्पतालले गर्ने भएको छ । प्रदेश सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीको उपस्थितिमा प्रदेश सरकारको तर्फबाट वरिष्ठ प्रशासक डा. अर्जुन सापकोटाले सिभिल अस्पतालका निर्देशक डा. विधान निधि पौडेललाई सहयोग हस्तान्तरण गरेका हुन् ।
राज्यमन्त्री अधिकारीले कोरोना संक्रमण बढिरहँदा अस्पतालहरुमा बेड तथा अक्सिजनको अभावले संक्रमितहरुको मृत्य भइरहेको अवस्थामा सिभिल अस्पताललाई डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न प्रदेश सरकारले सहयोग गरेको बताए ।