नेपालमा पनि देखियो ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरस

होमल्याण्ड खबर

२०७८ जेष्ठ ४ गते, मंगलवार २०:०८ मा प्रकाशित

भारतमा देखिएको काेराेना भाइरसकाे त्रिपल म्युटेसनको भेरियन्ट नेपालमा पनि भेटिएकाे छ । नेपालमा कुन प्रकारका भेरियन्ट तीव्ररूपमा फैलिएको छ भनेर सरकारले परीक्षणका लागि ३५ वटा नमुना विश्व स्वास्थ्य संगठनमा पठाएको थियो ।

जसमा सबैभन्दा बढी ९७ प्रतिशत अर्थात ३४ जनामा त्रिपल म्युटेन देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

इपिडियमियोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले अहिले नेपालमा देखिएको त्रिपल म्युटेन भेरियन्ट बढी संक्रामक र छिटो फैलने खालकाे भएकाे बताए । बेलायतको युके भेरियन्ट भन्दा यो बढी संक्रामक रहेको छ-उनले भने ।

उनका अनुसार नेपालमा हालसम्म तीन प्रकारका भेरियन्ट भेटिएका छन् । भारतमा भेटिएका युके भेरियन्ट, भारतमा देखिएको डबल र त्रिपल रहेका छन् ।

भारतीय भेरियन्टलाई आधिकारिक रूपमा बी.१.६१७ भनिएको छ। त्यो अक्टोबरमा पहिलो पटक फेला परेको हो। नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले मे १० मा विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरेको थियो। हाल पत्ता लागेकाे नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको विभिन्न अध्ययनले देखाएका छन् ।