९ मंसिर २०८१, आईतवार
इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोलम्बियामाथि पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
कोलम्बिया र इंग्ल्यान्डले निर्धारित समय र थप गरिएको समयसम्म पनि १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
इंग्ल्यान्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन, मार्कुस राश्फोर्ड, कैरन ट्रिपिएर, र इरिक डिएरले गोल गरे । इंग्ल्यान्डका जोर्डन हेन्डर्सनले भने पेनाल्टी मिस गरेका थिए ।
यता, कोलम्बियाका लागि पेनाल्टीमा रडमेल फल्काओ, जुयान कुएड्राडो, लुइस मुरिइलले गोल गरेपनि मटेयुस युरिबेले र कार्लोस बाक्काले पेनाल्टी मिस गरेका थिए ।
पेनाल्टीमा कोलम्बियाको दुई खेलाडी चुकेसँगै इंग्ल्यान्डमाथि जित हात पार्ने राम्रो अवसर गुमाएको छ । यता, इंग्ल्यान्ड भने कठिन जितसहित विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।
यसअघि कोलम्बियाले अन्तिम समयमा गोल गर्दै बराबरी बनाएको थियो । कोलम्बियाका लागि यरी मिनाले हेडर गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए ।
इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई कोलम्बियाका खेलाडीले आफ्नो डिबक्सभित्र लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई १–० गोलको अग्रता दिलाएका थिए । यो गोलसँगै जारी विश्वकपमा केनको गोल संख्या ६ पुगेको छ । केन विश्वकपको गोल्डेन बुटको दाबेदार समेत भएका छन् ।
दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । निकै आक्रमक खेल खेलेको इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्न भने सकेन । रसियाको राजधानी मस्कोस्थित स्पार्टक रंगशालामा कोलम्बियामाथि एकपछि अर्को दबाब दिएको इंग्ल्यान्ड गोल गर्न भने असफल भयो । कोलम्बियाले पनि केही गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन ।
इंग्ल्यान्ड क्वाटरफाइनलमा स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ ।