६ जेष्ठ २०८३, बुधबार
राजधानी लगायत विभिन्न शहरहरुमा कोभिडको उपचार नपाएर धेरैले ज्यान गुमाउनु परेको गुनासो सुनिँदै गर्दा कोभिड सङ्क्रमणका विरुद्ध लडिरहेको चितवन जिल्लामा भने बिरामीले अक्सिजन नपाएरै मर्नुपरेको छैन । शैर्याको अभावमा बिरामीलाइ भुईंमा राखेर उपचार गर्नुपर्ने अवस्था पनि यहाँ देखिएको छैनन् । ठाउँठाउँमा बिरामीहरु शैर्याको अभावमा छट्पटाईरहँदा यहाँका सरोकारवालाले शैर्या र अक्सिजनको अभाव हुने भन्दै समयमै तयारी गरेका कारण समस्या थप जटिल बन्न नपाएको हो ।
कोभिडको उपचार गरिरहेका अस्पतालहरुले शैर्या विस्तार र अक्सिजनका प्लान्ट थप गरिरहेका छन् । दाताहरुले गरेको सहयोग पनि उल्लेखनीय छ ।जिल्लामा शैर्या र अक्सिजन मात्रै होइन, गम्भीर अवस्थाका विरामीको उपचार ९क्रिटिकल केयर० मा काम गर्ने जनशक्ति र उपकरणहरु पर्याप्त मात्रामा भएका कारण कोभिडसँग लड्न कठिनाई परेको छैन ।


जिल्लामा रहेको सरकारी भरतपुर अस्पताल, दुई वटा मेडिकल कलेज, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुष्पाञ्जली अस्पतालले कोभिडका सङ्क्रमितहरुको उपचार गरिरहेका छन् । धेरै बिरामी थेग्दै आएको चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा। हरिश्चन्द्र न्यौपाने राजधानी काठमाण्डौँ भन्दा कोभिड उपचारमा जिल्ला उत्कृष्ट भएको दावी गर्नुहुन्छ ।
सो मेडिकल कलेजमा मात्रै ‘क्रिटिकल केयर’मा काम गर्ने २० जना जनशक्ति छन् । एनेस्थेसिया १२ जना, डिएम क्रिटिकल केयर २ जना र फेलोसिप ६ जना रहेको छ । अस्पतालमा १२ जना एमडी एमसिएच गरेका चिकित्सकसहित १६० जना विशेषज्ञ, ८० आवासीय र ५० जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । सात सय ५० शैर्या अस्पतालसँगै ९२ वटा भेन्टिलेटर रहेको उक्त अस्पतालमा ५५ वटा कोभिडका लागि छुट्याइएको छ । यस्तै, १६२ वटा कोभिड आईसियू र ७० वटा कोभिड एचडियु रहेको अस्पतालका प्रबन्ध निर्देशक डा। न्यौपाने बताउनुहुन्छ ।
यहाँका स्वास्थ्य अधिकारीहरुको तथ्याङ्क अनुसार चितवनमा आएका विरामीमध्ये ६० प्रतिशत बाहिरी जिल्लाका छन् । संघीय अस्पताल भरतपुरमा ५५५ शय्यामध्ये २०० शय्या कोभिडको लागि छुट्याइएको छ । भरतपुर अस्पतालमा २६ श्यया कोभिड आइसियू सञ्चालनमा रहेको छ । जहाँ १० वटा भेन्टिलेटर कोभिडका लागि प्रयोग गरिएको छ ।
अस्पतालमा रहेका अन्य पाँच वटा भेन्टिलेटर कोभिड बाहेकका बिरामीका लागि प्रयोग गरिएको छ । अस्पतालका १२ जना विशेषज्ञ चिकित्सकको नेतृत्वमा कोभिडको उपचार भईरहेको छ । अस्पतालमा १४७ जना चिकित्सक कार्यरत रहेका छन् ।
अस्पतालमा रहेका १० वटा ‘हाइफ्लो अक्सिजन नोजल’ मार्फत् कोभिडको उपचार गरिएको र १९ भन्दा बढी जिल्लाबाट सङ्क्रमित यहाँ उपचारका लागि आएको भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा।जगन्नाथ तिवारीले बताए ।
त्यस्तै, क्यान्सरको उपचार गरिरहेको यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १४० श्यया कोभिडका लागि छु्ट्याएर अस्पतालले उपचार गरिरहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतम अस्पतालमा नौवटा भेन्टिलेटर रहेकोमा दुईवटा कोभिडका लागि छुट्याईएको बताउनुहुन्छ । यता, जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा ७३० शैर्या कोभिडका लागि छुट्याइएको छ । ती शैर्या बढाएर एक हजारसम्म पुर्याउन सक्ने जनाइएको छ । आइसीयू अभाव हुने गरेको भएपनि अन्य शैर्या पर्याप्त रहेको र अन्यत्र जस्तो बिरामीले उपचार नै नपाएको अवस्था यहाँ नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका दुई मेडिकल कलेज र सरकारी अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट भएकाले उपचारमा सहज भएको हो ।स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा अहिले ५५३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । भरतपुर अस्पतालमा १६३ जना, चितवन मेडीकल कलेजमा १७६ जना, पुरानो मेडीकल कलेजमा १०२ जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४१ जना, गुञ्जमान अस्पतालमा एक जना र अन्य अस्पतालहरुमा ३९ जनाकको उपचार भइरहेको छ । कार्यालयका अनुसार उपचारमा रहेका मध्ये २५३ जना आइसियूमा, ५२ जना एचएफएनसिमा, एचडियूमा ९६ जना र आइसोलेसनमा १८५ जना रहेका छन् ।
छ वर्षअघिको भूकम्पको समयमा पनि यहाँका अस्पतालहरुले उपचारमा महत्वपूर्ण योगदान दिएको यहाँको स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित गर्न सबै एक भएर लाग्नुपर्ने देखिन्छ । अस्पताल सञ्चालकहरु बोनम्यारो प्रत्यारोपण बाहेक नेपालमा हुने सबै खालका उपचार जिल्लामा हुने दावी गर्छन् । कोभिडको उपचारमा कुशल व्यवस्थापन गरेर उत्कृष्ट सेवा दिइरहेको जिल्लाले ‘मेडिकल सिटी’ को झल्को दिएको धेरैले यतिखेर महसुस गरेका छन् ।