गौतम बुद्धको जन्मस्थल नेपाल हुनु हामी सबैको लागि गौरव : राष्ट्रपति

होमल्याण्ड खबर

२०७८ जेष्ठ १२ गते, बुधबार १०:४१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन।

विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै उहाँले बुद्धजयन्तीलाई राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।

शान्तिका दूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सदभाव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्विशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

सम्पूर्ण विश्वले कोभिड-१९ को महामारीबाट शिघ्रातीशिघ्र उन्मुक्ति पाउने आशा व्यक्त गर्दै राष्ट्रपतिले बुद्धजयन्तीको यो अवसरले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ।