६ जेष्ठ २०८३, बुधबार
विएसपी नेपाल नामक गैरसरकारी संस्थाले राजधानीलगायत देशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
देशका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, पर्सा, रुकुम, अर्घाखाँची, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुरलगायतका जिल्लाका ४२ वटा स्थानीय निकाय, सरकारी तथा निजी क्षेत्रका अस्पताल एवं विभिन्न स्वास्थ्य संस्थालाई रु एक करोड ९० लाख बराबरका पिपिई, मास्कलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ ।


सोही संस्थाका कार्यकारी निर्देशक प्रकाश लामिछानेले विशवव्यापी महामारीबाट आक्रान्त भइरहेको अवस्थामा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्थलगत रुपमै गएर केही सहयोग गर्न पाउँदा संस्थाले गौरवको अनुभव गरेको बताए । माई कलाइमेन्ट फाउण्डेशन स्वीजरल्याण्डको सहयोगमा सर्जिकल मास्कसहित १० हजार पिपिई सेट उपलब्ध गरिएको उनले जानकारी दिए । कार्यकारी निर्देशक लामिछानेले प्राप्त सामग्रीको सही सदुपयोग र उपयोग गर्न समेत आग्रह गर्दै भविष्यमा पनि यस किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाए ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन यस्ता स्वास्थ्य सामग्री केही सहयोग पुग्ने भएकाले विएसपी नेपालले सामाजिक भावनाबाट प्रेरित भई गाउँपालिका, नगरपालिका र अस्पताल एवं स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिएको संस्थाका कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले बताए ।
देशका ग्रामीण वस्तीहरुमा वायोग्यास प्रविधिको विकास र विस्तार गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापना भएको यस संस्थाले यसअघि पनि यस्ता विपद्का समयमा सामाजिक उत्तरदायित्वअनुसार विभिन्न राहत सहयोग गर्दै आएको छ ।
– रासस