६ जेष्ठ २०८३, बुधबार
मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् ९मुख्यगरी बाढी पहिरो० बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति व्यहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आकलन सार्वजनिक गरिसकेको छ। उक्त चेतावनीसँगै आमनागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन्।


गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो। सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४ सय मानिसको मृत्यु भएको थियो। एक हजार एक सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए।
यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना ०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध संघसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्वतयारी थालिएको छ।
प्राधिकरणका उपसचिव वेदनीधि खनाल भन्छन्, ‘विगत वर्षको अनुभव हेर्दा साउनअसोजमा बढी प्रभाव पारेको देखिएको छ’, उनले बाढीपहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा रहेको बताए।
खनाल यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुन सक्ने सम्भावना रहेको बताउँछन्। प्राधिकरणले पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित र भरपर्दो बनाउने, अस्थायी आश्रयस्थल तथा तत्कालको राहतका लागि अहिलेदेखि नै व्यवस्थापन गर्ने, ठाउँठाउँ पु¥याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्ने गरी योजना निर्माण गरिएको प्राधिकरण प्रमुख पोखरेल बताउँछन्।
यसपालि प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही हटस्पट भएको गाउँपालिकाको कार्ययोजना पनि तयार पार्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ। गत वर्षको विपद् क्षेत्रमा गएको हेलिकप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन। सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन।
त्यसलाई सिकाइकै रूपमा लिँदै विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ। जोखिम क्षेत्रको जानकारीलाई पनि मौसम सूचना प्रणालीमा समावेश गरिनेछ। आवश्यक तयारीका लागि सरकारबाट कानुनी संरचना निर्माण र छिटो उद्धार कसरी गर्ने भन्ने र समितिसमेत बनाइसकिएको र त्यसले काम गरिरहेको पोखरेल बताउँछन्।
सोही पूर्वतयारीका लागि बुधबार प्राधिकरणले समन्वयात्मक रूपमा भर्चुअल बैठकसमेत गरेको छ। उक्त छलफलमा भाग लिँदै विपद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापा क्षति न्यूनीकरण नै पहिलो लक्ष्य हुनुपर्नेमा जोड दिन्छन्। यसपालि सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयासको खाँचो रहेको उनले औँल्याए।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले यसपालि मनसुन सक्रिय हुने देखिएको जानकारी दिए। ‘प्रि मनसुनमा जसरी वर्षा हुनुपर्न थियो भएन, अहिले बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित हुँदै छ जसकारण देशभर मनसुन सक्रिय हुने देखिएको छ’, उनले भने।
विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख विक्रम श्रेष्ठ हरेक वर्ष बाढीलाई फोकस गरेर २४ घण्टै पूर्व सूचना दिने गरिएको बताउँछन्। केही साताअघि मनसुन आपतकालीन कार्ययोजना ०७८ जारी गरेर काम हुँदै आएको र दिनमा तीन पटक बाढीको सूचना दिने गरिएको उनले जानकारी दिए। ‘हामीले ठूला र साना खोलाको अवस्था कस्तो रहनेछ भनेरसमेत दिने गरेका छौँ,’ उनले थपे।
संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि सारा बेस्लो नयन्टीले नेपालको विपदमा संयुक्त राष्ट्रसंघको सधैँ साथ–सहयोग रहने उल्लेख गर्दै कोभिड—१९, त्यसको आर्थिक संकट र मनसुनजन्य विपदमा सरकार र सबै निकाय मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरे।
जलस्रोत तथा सिँचाइ विभागको नदी व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवका अनुसार मुलुकका विभिन्न तटबन्ध र जोखिम क्षेत्रमा प्रभावकारी उपाय अपनाई बाढी तथा डुबानको जोखिम न्यूनीकरण गरिरहेको तथा आवश्यक तार जाली बोरा, भण्डारणको तयारी थालिएको छ।
यादवले सीमावर्ती क्षेत्र तटबन्ध र अरू संरचनाले पु¥याएको अवरोधका सन्दर्भमा भारतसँगको समन्वयमा निकास निकाल्ने काम सुरु भएको बताए। सीमा क्षेत्रमा बर्सेनि डुबान हुँदै आएको छ। बजेटको अभाव भएकाले चुनौतीपूर्ण अवस्था कायमै रहेको उनको भनाइ छ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विपद्को समयमा नागरिकलाई सचेत बनाउन मिडिया प्रभावकारी माध्यम रहेको बताए। कोरोनाका बेला मास्कको प्रयोग गर्ने विषयमा ८५ प्रतिशत मानिसले मिडियाबाट जानकारी पाएको भन्ने अध्यययनबाट देखाएकाले विपद्का बेला पनि मिडियामार्फत सूचना जाँदा थप प्रभावकारी हुने उनको भनाइ थियो। -रासस