६ जेष्ठ २०८३, बुधबार
सरकारले असार दोस्रो साताबाट निषेधाज्ञाको स्वरुपमा परिवर्तन गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना व्यवस्थापन निर्देशक समितिको बैठकले हालको निषेधाज्ञाको स्वरुपलाई केही परिवर्तन गरी ‘स्मार्ट लकडाउन’मा जाने निर्णय गरेको हो ।


काठमाडौँ उपत्यकामा जारी पछिल्लो निषेधाज्ञा यही असार ७ गते सकिँदैछ । त्यसपछि पनि निषेधाज्ञा कायमै राखेर स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकले कतार, साउदी अरेबिया, मलेसिया, जापान लगायतका मुलुकमा पुनः हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान पुनः सुरु गरिने समितिले जनाएको छ ।
बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।
त्यसैगरी सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।
गैर आवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।