उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ असार ६ गते, आईतवार ०९:२२ मा प्रकाशित

काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने विषयमा निर्णय गर्नका लागि बैठक बस्न लागेको हो ।

असार १ गते थप गरिएको निषेधाज्ञा भोलि सकिने भएकाले त्यसपछिको निषेधाज्ञालाई कुन स्वरुपमा अगाडि बढाउने भन्ने विषयमा आजको बैठकमा छलफल तथा निर्णय हुने बताइएको छ ।

अघिल्लो साताभन्दा यो साता कोरोना संक्रमण घटेपछि उपत्यकामा थप आर्थिक क्षेत्र सञ्चालन गर्न दिने तयारी थालिएको छ । जसमा खाद्यान्न तथा निर्माण सामग्रीका पसल लामो समय खोल्न दिने तयारी प्रशासन कार्यालयको छ ।

त्यस्तै, कपडा तथा भाँडा पसलसमेत सञ्चालन गर्न दिन लागिएको छ । उद्योग तथा कार्यालयहरू भने स्वास्थ्य मापदण्ड पालना गराएर खोल्न दिने सम्भावना रहेको छ ।

यसअघि अत्यावश्यक भनी सञ्चालन अनुमति पाएका व्यवसाय यथावत रुपमा चल्न पाउने छन् ।

अघिल्लो साता निषेधाज्ञा खुकुलो बनाएर एक साताका लागि थपिएको थियो । निर्माण सामग्री तथा पुस्तक पसल सञ्चालन गर्न दिने निर्णय भएको थियो । होटेल तथा रेस्टुरेन्टले टेकअवे सुविधा दिन पाउने निर्णय भएकोमा त्यसलाई यथावत राख्न लागिएको छ ।

तर सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडानबारे छलफल भइरहे पनि तत्काल खुल्ने स्थिति नदेखिएको बुझिएको छ ।