भोलिदेखि काठमाडौंमा सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्न पाउने

होमल्याण्ड खबर

२०७८ असार १४ गते, सोमबार १२:११ मा प्रकाशित

उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका छन् ।

प्रशासनको निर्णयअनुसार जोर-बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । बिहान ६ देखि बेलुका ७ बजेसम्म ती सवारी चलाउन पाइनेछ ।  भौतिक दूरी कायम गर्दै ती सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

यातायात व्यवसायीको तीव्र दबाबपछि जिल्ला प्रशासनहरुले सर्तसहित सेवा संचालनको अनुमति दिएका हुन् । अहिले उपत्यकाका तीन जिल्लामा निजी सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन भैरहेका छन् ।