९ मंसिर २०८१, आईतवार
तनहुँ जलविद्युत आयोजनाले व्यास ५ बेतेनीमा थप ५० रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ । आयोजनाको बाँधस्थल जाने बाटो तथा ठेकेदारको निर्माण कार्यका लागि भन्दै थप जग्गा अधिग्रहण गर्ने तयारी आयोजनाले थालेको हो । जग्गा अधिग्रहणका लागि स्थानीयस्तरमा तयारी थालिएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहने जग्गा मुआब्जा निर्धारण समितिले प्रारम्भिक चरणको तयारीका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वको सहयोग उपसमिति गठन गरेको छ ।
जिल्ला प्राविधिक, वन कृषि, मालपोत र नापी कार्यालयका प्रतिनिधि रहने उप समितिले स्थानीय प्रभावितहरुसँग छलफल थालेको छ । आइतबार भएको छलफलमा अधिग्रहण गरिने जग्गाको विषयमा सहमति जुटे पनि मुआब्जा दरका बारेमा भने सहमति भइनसकेको आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए । यसअघि पनि मुआब्जा दरका लागि पटक पटक बैठक बसेको थियो । तर बैठकमा मुआब्जा दरबारे भने सहमति हुन सकेको छैन ।
स्थानीय नरबहादुर थापा संयोजकत्वको प्रभावितहरुसँग फेरि बैठक बस्ने तयारी उप समितिको छ । उपसमितिले दररेटबारे सहमति गरेपछि मात्र मुआब्जा निर्धारण समितिले अधिग्रहणको प्रक्रिया थाल्ने प्रशासन स्रोतले जनाएको छ ।
आयोजनाले बाँध तथा जलाशयका लागि ठेक्का गरेकामा छनोट सूचीमा परेकाको नाममा स्वीकृतिका लागि दातृ निकाय जाइका तथा एडीबीसमक्ष नाम पठाए पनि अझै स्वीकृति नआएकाले ठेक्का सम्झौता हुन सकेको छैन । दातृ निकायबाट सहमतिपछि मात्र छनोटमा परेका कम्पनीमध्येबाट सम्झौता हुने आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले बताए । तनहुँ हाइड्रोका प्रबन्ध सञ्चालक थिकेले ठेक्का सम्झौता चाँडै नै हुने विश्वास व्यक्त गरे ।
आयोजनाले ठेक्कापश्चात नोभेम्बर २०१८ बाट मुख्य संरचनाहरुको निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको छ । पाँच वर्षभित्र काम सकेर विद्युत उत्पादन थाल्ने लक्ष्य आयोजनाको छ । अहिले आयोजना निर्माणका लागि आवश्यक पूर्वाधार पहुँच मार्ग, सबस्टेसन, पुल तथा आवास लगायत संरचना भने निर्माण भइसकेका छन् । झन्डै ५० अर्बभन्दा बढी रुपैयाँ आयोजनाको निर्माणका लागि लाग्ने अनुमान गरिएको छ । आयोजनाका लागि एसियाली विकास बैंक, जाइका, युरोपिएन इन्भेस्टमेन्ट बैंक लगायतले ऋण दिँदैछन् । सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत आयोजनाका लागि लगानी गर्दैछ ।