युरोकप : नकआउट चरणका अन्तिम दुई खेल हुँदै

होमल्याण्ड खबर

२०७८ असार १५ गते, मंगलवार १३:४२ मा प्रकाशित

युरोकप फुटबलमा आज मंगलबार दुई खेल हुने भएको छ । अन्तिम नकआउट चरणको पहिलो खेलमा इंग्ल्याण्ड र जर्मनी भिड्दा दोस्रो खेल स्विडेनले युक्रेनको सामना गर्ने छ । इंग्ल्याण्ड र जर्मनीबीचको खेल राति ९ः४५ बजे लण्डनस्थित वेम्बली स्टेडियममा हुने छ । दुवै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहने छन् ।

इग्ल्याण्डले समूह ‘डी’बाट अपराजित रहँदै समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएको हो । उसले समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १–० गोल, दोस्रोमा स्कटल्याण्डसँग गोलरहित बराबरी र अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोलले पराजित गरेको थियो ।

यस्तै, जर्मनीले समूह ‘एफ’बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । उसले समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित हुँदा दोस्रो खेलमा पोर्चुगलसँग ४–२ गोलले विजयी भएको थियो । अन्तिम खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेलेको थियो ।

आजको दोस्रो खेल स्विडेन र युक्रेनबीच राति १२ः४५ बजे स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुनेछ । स्विडेन समूह ‘ई’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।