५ जेष्ठ २०८३, मंगलवार
धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशमा छिटो रोपाइँं थालिने भएका कारण पनि सबैभन्दा बढी रोपाइँ सकिएको जानकारी दिए।
यसैगरी गण्डकी प्रदेशमा १० लाख आठ हजार २७८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५ दशमलव ३४ प्रतिशत अर्थात् १६ हजार ६१२ हेक्टरमा, लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये ४५ दशमलव ९४ प्रतिशत अर्थात् एक लाख ३९ हजार ४५६ हेक्टर, कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ६२ प्रतिशत अर्थात् २३ हजार ८५० हेक्टर क्षेत्रफलमा र सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ४८ दशमलव ३१ प्रतिशत अर्थात् ७९ हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।


गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो ।