चीनबाट ४० लाख भेरोसेल खोप ल्याइँदै

होमल्याण्ड खबर

२०७८ असार २० गते, आईतवार १२:१४ मा प्रकाशित

नेपाल सरकारले चीनको बेइजिङबाट कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको भेरोसेल खोप ४० लाख डोज ल्याउने भएको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल वायुसेवा निगमले तीनवटा उडानमार्फत् ल्याउने छ । अबको चार दिनपछि खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरोसेल खोप लिनका लागि जुलाई ८ तारिख अर्थात् असार २४ गते बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । यस्तै दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ र २२ मा हुनेछ ।

सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि ‘नन् डिस्क्लोजर एग्रीमेन्ट’ गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । यसअघि चीन सरकारले अनुदान सहयोगमा नेपाललाई १८ लाख डोज भेरोसेल खोप उपलब्ध गराइसकेको छ । अब कोरोनाविरुद्धको खोप निरन्तर आपूर्ति हुने र देशव्यापी रुपमा खोप अभियान सञ्चालन हुने प्रवक्ता पौडेल बताउँछन् । हालसम्म नेपालले ४२ लाख ४८ हजार मात्रा खोप प्राप्त गरिसकेको छ भने आजसम्म कुल जनसंख्याको ९ प्रतिशतले अर्थात् २५ लाख ७४ हजार ७१५ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

यस्तै, ७ लाख ५७ हजार ३८० जना अर्थात् ३ प्रतिशतले दोस्रो मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुरुमा नेपाललाई भारत सरकारले अनुदानस्वरुप १० लाख डोज कोभिशिल्ड खोप दिएको थियो । सरकारले भारतसँग ५० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेर २० लाख डोजका लागि रकम भुक्तानी गरे पनि १० लाख डोजमात्रै भारतले उपलब्ध गराएको हो । यस्तै कोभ्याक्स सुविधामार्फत अक्सफोर्ड एस्ट्राजेनेकाकै ३ लाख ४८ हजार डोज कोभिशिल्ड खोप नेपालले प्राप्त गरिसकेको छ ।
यसरी भारत सरकार दिएको अनुदान सहयोग, खरिद र कोभ्याक्स सुविधामार्फत २४ लाख ४८ हजार मात्रा कोभिशिल्ड खोप नेपालले प्राप्त गरेको छ । हालसम्म ४ लाख ११ हजार ६ जनाले कोभिशिल्डको दोस्रो डोज लाइसकेका छन् भने १५ लाख नागरिकलाई सरकारले कोभिशिल्डको दोस्रो मात्रा उपलब्ध गराउन सकेको छैन ।