कक्षा १२ को परीक्षा साउन अन्तिम साता गर्न प्रस्ताव

होमल्याण्ड खबर

२०७८ असार २० गते, आईतवार १३:०९ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ ।  भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट पारे । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ ।

यसैबीच, कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने सम्भावना बढेको छ । कोरोना भाइरसको संक्रमण केही कम भए पनि पूरै नघटेकाले अर्को विद्यालयमा परीक्षा दिन जान सक्ने अवस्था भने नरहेको अधिकारीहरूले बताएका छन् ।

परीक्षा कहिलेबाट सञ्चालन गर्ने भन्ने निधो भएसँगै होम सेन्टरका बारेमा निर्णय हुनेछ । परीक्षा तीन घण्टा अवधिको हुने वा के हुने भन्ने निर्णय पनि एकैसाथ हुने जनाइएको छ । बोर्डले गत वर्ष कक्षा १२ मा अध्ययनरत विद्यार्थीको परीक्षा ४० अंकको डेढ घण्टा लिएको थियो ।

यसअघि जेठ २६ गतेबाट हुने गरी तय भएको कक्षा १२ को परीक्षा कोरोना संक्रमण बढेपछि स्थगित गरिएको थियो ।