६० देखि ६४ वर्ष उमेर समूहलाई आजदेखि भेरोसेलको दोस्रो मात्रा दिइने

होमल्याण्ड खबर

२०७८ असार २२ गते, मंगलवार ०८:४५ मा प्रकाशित

कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत आजदेखि २४ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो खोप लगाइने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो उमेर समूहका तीन लाख ७० हजार ज्येष्ठ नागरिकले भेरोसेलको पहिलो मात्रा लगाएका थिए ।

यस्तै, यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले दोस्रो मात्रा खोप लगाउन पाउने छन्, तर त्यसका लागि उनीहरुले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु पर्ने छ ।  खोप विहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइने छ ।

खोपका लागि काठमाडौँ महानगरपालिकामा मात्रै १३ वटा केन्द्र तोकिएको छ । जसमा वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, शुत्रलराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रस्तुती तथा स्त्री रोग अस्पताल रहेका छन् ।

यस्तै काठमाडौं मेडिकल कलेज सिनामंगल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शंकरापुर अस्पताल, हिमाल अस्पताल, ओम हस्पिटल एण्ड रिसर्थ सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पतालमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीमा दोस्रो मात्रा दिइने छ ।

तारकेश्वर नगरपालिकाका धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीमा खोप दिइने छ । साथै दक्षिणकाली नागलिकाको शेषनारायण स्वास्थय चौकीलाई खोप केन्द्र तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कीर्तिपुर नगरपालिकाका आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र विष्णु देवी अस्पताल, बुढानिलकण्ठ नागपालिकाका बुढानिलकण्ठ स्वास्थ्य चौकी र करुणा अस्पताल, गोकर्णेश्वर नगरपालिकाका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र अल नेपाल अस्पतालमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ ।

नागार्जुन नगरपालिकाका राकोट प्राथमिक स्वास्थ्य केन्द्र र इचंगुनारायण स्वास्थय चौकी, चन्द्रगिरी नगरपालिकाका सतुंगल स्वास्थ्य चौकी र सशस्त्र प्रहरी अस्पताल, शंखरापुर नगरपालिकाका लप्सीफेदी स्वास्थ्य चौकी र साँखु स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको अभियान अन्तर्गत भेरोसेल खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।