कैलालीमा बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ

होमल्याण्ड खबर

२०७८ असार २४ गते, बिहीबार १७:०० मा प्रकाशित

बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ गरेको बताए ।

घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिए । १५ वर्षकी किशोरीले बालकलाई जामुन खान भनी आफूसँगै लगेको र जमरा कुलोको किनारबाट धकेलेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । घरबदेखि करिब पाँच सय मिटर उत्तरतर्फ कुलोमा पुगेपछि बालकले खुट्टामा लगाएको चाँदीका बाला निकालेर बालकलाई धकेलेर कुलोमा फालेको किशोरीले स्वीकार गरेको पनि एसपी अधिकारीले बताए ।

घटना खुल्ने डरले उनी साथीको घरमा गएर किताब लगेको, चाँदीका बाला साथीलाई लुकाउन दिएको पनि अनुसन्धानबाट खुलेको छ । लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बाला लुकाउन दिएको र बजारमा बिक्रीको प्रयाससमेत गरेको देखिएको प्रहरीको भनाइ छ ।