तेस्रो लहरका लागि स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन अनुरोध

होमल्याण्ड खबर

२०७८ श्रावण ७ गते, बिहीबार १६:३० मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक हप्तामा कोरोना भाइरस संक्रमण दर पुनः बढेको बताएको छ । मन्त्रालयले आज एक  विज्ञप्ति जारी गरी संक्रमणको बढ्दो अवस्थाले अब चुनौतीपूर्ण तेस्रो लहर सुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भएकाले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको मन्त्रालयले वित्रप्तिमा उल्लेख गरेको छ ।

मोरङ, सुनुरी,झापा, काठमाडौं, भक्तपुर ,ललितपुर, चितवन,कास्की रुपन्देही र कैलालीलमा हाल ५०० भन्दा बढी संक्रिय संक्रमित रहेको र अन्य २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ । संक्रमण नियन्त्रणका लागि सबैलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न समेत मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएकोले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

यस्तै मन्त्रालयले विश्वको अनुभवलाई हेर्ने हो भने उपचार केन्दीत भएर लागेका देशभन्दा रोकथाममा लागेका देशहरुले मात्रै कोरोना संक्रमण नियन्त्रणमा सफलता पाएको जनाएको छ ।