५ जेष्ठ २०८३, मंगलवार
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित नेपाली राजदूतावासको आग्रहमा महिनामा एक उडानबाट शव ल्याउन निगमको जहाज प्रयोग हुँदै आएको हो ।
त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन् । राष्ट्रिय ध्वजाबाहक भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि मलेसियालगायत अन्य गन्तव्य मुलुकबाट निगमले नेपालीको शव ल्याएको थियो।


निगमको क्वालालम्पुरमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएकामा नेपाली कामदारको शव लिनाकै लागि वाइडबडी जहाज प्रयोग गर्ने गरिएको हो । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । -रासस