मेलम्ची बाढी अपडेटः १७ घर बगायो,आवतजावत बन्द

होमल्याण्ड खबर

२०७८ श्रावण १७ गते, आईतवार १२:३२ मा प्रकाशित

शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ ।  ती मध्ये ९ पक्की र ८ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ ।

स्थानीयवासी हस्त पण्डितले दिएको जानकारी अनुसार बाढीले आज विहान पुल बगाएको हो ।  मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द  छ ।

त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।  मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए।

खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताए । हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।