कोरोना तेस्रो लहरको पूर्वतयारीमा सरकार

होमल्याण्ड खबर

२०७८ श्रावण १७ गते, आईतवार १७:२३ मा प्रकाशित

सरकारले कोरोनाको तेस्रो लहर रोकथाम र नियन्त्रणकाका लागी पूर्वतयारी थालेको छ । गृहमन्त्री बालकृष्ण खाणले कोरोना सम्बन्धमा विशेष बैठक गर्दै खोप, होल्डिङ सेन्टर र अन्य आवश्यक तयारीका लागि निर्देशन दिएका छन् ।

कोरोनाको तेस्रो लहर आउनुअघि नै कोरोनाविरुद्धका संरचना तयार गर्नुपर्नेमा गृहमन्त्री खाणले जोड दिएका छन् ।

बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै सरकारी अस्पतालमा अक्सीजन व्यवस्थापन गर्न तथा कोरोनाविरुद्ध सय दिने विशेष योजना कार्यान्वयन गरिने बताए । सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई खोप दिएर होल्डिङ सेन्टरमा राखिने भन्दै राज्यमन्त्री श्रेष्ठले एक हप्ताभित्र ३२ लाख डोज खोप आउने बताए ।

गृह मन्त्रालयमा आयोजित छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सहभागी भएका थिए ।